प्रविधिमैत्री हुन सकिएन भने अब पछि परिन्छ- त्रिवि रजिष्ट्रार प्रा.डा.रिजाल

Thankot Times

थानकोट।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदार प्रसाद रिजालले प्रतिभावान व्यक्तिमा ज्ञान, सीप का साथै प्रविधिको समेत जानकारी हुनु अपरिहार्य रहेको धारणा राखेका छन् ।

सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसले आफ्ना शिक्षक कर्मचारीहरूका लागि आयोजना गरेको डिजिटल साक्षरता प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै रजिष्ट्रार रिजालले सो धारणा राखेका हुन् ।

अबको युगमा प्रविधिको ज्ञान नहुने हो भने क्षमताले मात्रै अवसर सृजना हुन नसक्ने उनको भनाइ थियो । अब जागिर खाने भन्दा पनि काम सृजना गर्ने खालको ज्ञानको आवश्यकता रहेको रजिष्ट्रार रिजालले धारणा थियो ।

५४ घण्टा सञ्चालन गरिएको प्रशिक्षण विभिन्न ३ चरणमा सम्पन्न गरिएको क्याम्पस प्रमुख शत्रुध्न प्रसाद गुप्ताले जानकारी दिए ।

तालिम पश्चात शिक्षक, कर्मचारीहरूमा शैक्षणिक क्षमता अभिवृद्धि हुने अपेक्षा लिइएको क्याम्पस प्रमुख गुप्ताको भनाइ छ । तालिमका क्रममा वेभसाइट अध्यावधिक गर्ने विधि एवं पद्दति, शिक्षण पद्दतिका विविध आयाहरूको प्रविधिसँग संयोजन लगायतका विषय जानकारी दिइएको थियो । 

विश्वविद्यालय अनुदान आयोगको प्राविधिक सहयोग एवं काठमाडाैं शिक्षा क्याम्पस सूचना प्रविधि विभागको संयोजनमा सम्पन्न सो प्रशिक्षणमा क्याम्पसका ४२ जना शिक्षक कर्मचारीले सहभागिता जनाएका थिए ।

यसखालको तालिम कार्यक्रम हालसम्म देशका १६८ वटा क्याम्पसमा सञ्चालन भइसकेको क्याम्पस प्रमुख तथा नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुध्न प्रसाद गुप्ताको भनाइ छ । 

शिक्षकले सिकेको ज्ञानमा थप निखारता ल्याउन शिक्षकले निरन्तर सिकाइलाई निरन्तर व्यवहारमा उतार्न आवश्यक रहेको औल्याउँदै क्याम्पस प्रमुख गुप्ताले त्रिविले सामुदायिक क्याम्पसको गुणस्तर वृद्धि गर्न शिक्षण सिकाईमा पछिल्ला प्रविधि भित्र्याउन सहयोग गर्नुपर्ने धारणा राखे । 

उनीहरूलाई आइतबार सहभागिताको प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा.डा. माधव भट्टराई, क्याम्पस सञ्चालक समिति सदस्य हरिविनोद अधिकारी, प्रशिक्षक प्रा.डा वासुदेव काफ्ले लगायत क्याम्पसका विभिन्न विभागीय प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *