नागढुङ्गामा चालक ओर्लिएपछि हायस आफैं गुड्यो, ज्यान बचाउन हाम फाल्दा १ यात्रुको मृत्यु

थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ वाडभञ्जाङ्गस्थित नागढुङ्गामा आइतबार साँझ हायस दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ ।
प्रत्यक्षदर्शीका अनुसार चितवनबाट काठमाडाैंतर्फ आउँदै गरेको ग १ ख ५५४६ नम्बरको हायस गाडीका चालक नागढुङ्गा चोकमा ट्राफिक प्रहरीको चेकिङका क्रममा ओर्लिएपछि हायस आफैं गुड्दै करिब १५० मिटर पर पुगेपछि कान्लामा अडिएको थियो ।
सो क्रममा अत्तालिएका यात्रु गुडिरहेको हायसबाट हामफाल्दा एक जनाको ज्यान गएको छ ।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार मृतक महिलाको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा केही यात्रु घाइते भएका छन् जो गुडिरहेको हायसबाट हाम फालेका थिए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
हामी अहिले हायस दुर्घटनास्थलबाट निकाल्दै छाैं, घाइते हुनेहरुको विवरण संकलन जारी छ, डीएसपी सुवेदीले भने ।
चालक प्रहरी प्रभाग नागढुङ्गाको नियन्त्रणमा छन् । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
उसो त प्रहरी कार्यालय नजिकै दुर्घटना हुँदा पनि प्रहरीले उद्धारमा सक्रियता नदेखाएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनापछि नागढुङ्गा क्षेत्रमा धेरै संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
अहिले सो हायस दुर्घटनास्थलबाट निकालिएको छ ।