थानकोट पानीघाटबाट समातिए सुवास

थानकोट ।
प्रहरी वृत्त थानकोटले चन्द्रागिरि-४ थानकोट पानीघाटबाट एक युवालाई शनिबार साँझ नियन्त्रणमा लिएको छ ।
थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्डमा प्रहरीले चेकजाँच गर्दा ८ थान सालकको खपेटा, एक थान नंग्रा, पहिचान हुन नसकेको एक थान हड्डी, ३ थान दुम्सीको काँडासहित ३२ वर्षीय सुवास तामाङलाई नियन्त्रणमा लिएको हो ।
दोलखा शैलुङ गाँउपालिका वडा-६ घर भएका तामाङ चित्लाङबाट काठमाडौंतर्फ आँउदै गरेका थिए ।
तामाङले कम्मरमा बाँध्ने झोलाभित्र उक्त वस्तुहरु लुकाएर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको हो । तामाङको साथमा ५२ हजार रुपैयाँ समेत फेला परेको प्रहरी वृत्त थानकोटले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।