दोश्रो गोदावरी मेयर कप फुटबल प्रतियोगिता २०८२ बैशाख २० बाट, टिम दर्ता शुल्क २५ हजार

थानकोट ।
ललितपुरकाे गोदावरी नगरपालिकाको आयोजनामा हुने भनिएको दोस्रो उपत्यकाव्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको मिति सरेको छ ।
यसअघि चैत ९ बाट प्रतियोगिता आयोजना हुने भनिएपनि नेपाल सुपर लिग सुरु हुने भएपछि प्रतियोगिताको मिति सरेको हो । जसअनुसार अब सो प्रतियोगिता २०८२ बैशाख २० गतेबाट सुरु हुने गरि तालिका बनाइएको छ । प्रतियोगिता जेठ ३ गतेसम्म जारी रहने गोदावरी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नं. १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको खेल मैदानमा उपत्यकाभित्रका विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गर्ने नगरप्रमुख गजेन्द्र मर्हजनले जानकारी दिए।
स्थानीय तहकोतर्फबाट टिम दर्ताका लागि नगरपालिकाले सूचनामार्फत चैत्र ५ गतेदेखि २०८१ बैशाख १२ गतेसम्मको समय तोकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले बताए।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने उनले बताए। उनका अनुसार अनुशासित टिम तथा उत्कृष्ट गोलकिपर, डिफेण्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइनेछ ।
नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाव्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको प्रमुख मर्हजनले बताए। उनले प्रतियोगिताले नवनिर्मित गोदावरीको खेल मैदान विस्तारगर्न थप बल पुग्ने विश्वास व्यक्त गरे।
गत वैशाख र जेठमा सम्पन्न भएको पहिलो मेयर कपमा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणमा चन्द्रागिरि नगरपालिकालाई २-१ गोल अन्तरले हराउँदै काठमाडौं महानगरपालिकाले उपाधि जितेको थियो।