वन क्षेत्र प्रवेश गर्दा शुल्क लिएको विषयमा चन्द्रागिरि हिल्सद्धारा धारणा सार्वजनिक (विज्ञप्तिसहित)

थानकोट ।
चन्द्रागिरि भञ्ज्याङ वरपरका सामुदायिक वन क्षेत्रबाट चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित भालेश्वर मन्दिर क्षेत्रमा प्रवेश गर्ने पैदल यात्रीसँग ढाट तेर्स्याएर प्रवेश शुल्क लिएको विषय चर्चामा आएपछि चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले शुक्रबार एक सूचना जारी गरेको छ ।
सामाजिक सञ्जालमा पछिल्लो समय चन्द्रागिरि हिल्सले वन क्षेत्रमा प्रवेश गर्दा शुल्क लिएको भन्दै चाैतर्फी चासो र चिन्ता व्यक्त हुन थालेपछि सो विषयमा संस्थाले सूचना जारी गरेरै धारणा सार्वजनिक गरेको हो ।
संस्थाद्धारा जारी सूचनामा भनिएको छ
सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड करिब ७० हजार शेयरधनीको स्वामित्व) को रूपमा सञ्चालनमा रहेको यस चन्द्रागिरि हिल्स लिमिटेडले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सर्वविदितै छ।
यस चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन गर्न वैकल्पिक मार्ग हुँदै पाल्नु हुने पर्यटक तथा दर्शनार्थीहरुसँग रकम लिइएको सम्बन्धमा प्राप्त प्रतिक्रिया प्रति यस लिमिटेडको ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा यस लिमिटेडले सो क्षेत्रसँग जोडिएका स्थानीय सरकार र अन्य निकायसँगको छलफल तथा समन्वय एवं लिखित र मौखिक निर्णयका आधारमा सो क्षेत्र वरिपरीको फोहोर मैला व्यवस्थापन तथा सरसफाई, शौचालयको व्यवस्थापन, निःशुल्क पिउने पानीको व्यवस्था, निःशुल्क वाईफाइ, बिजुली बत्ती, पाकिंड सुविधा र दर्शनार्थीहरुको व्यक्तिगत सुरक्षा तथा वनजन्य सुरक्षाका लागि २ जना सुरक्षा गार्ड परिचालन गरी आवश्यक व्यवस्थापन गर्दै आईरहेको छ। साथै, सुख्खा याममा सम्भावित डढेलोको जोखिम न्यूनीकरण गर्न स्थानीय सामुदायिक वनहरुसँगको समन्वयमा ४ जना वन हेरालु राख्नको निमित्त आर्थिक सहायता समेत प्रदान गर्दै आईरहेको छ। यसै सन्दर्भमा चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट रु. एक सय रुपैयाँ मात्र सेवा शुल्क लिई सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको थियो।
सो को जानकारी चेकपोष्ट स्थित सूचना बोर्डमा समेत स्पष्ट बुझिने गरी उल्लेख गरिएको छ। उक्त व्यवस्थाबाट वैकल्पिक मार्ग हुँदै पाल्नुहुने पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको स्पष्ट गर्न चाहन्छौ।