अब विवादितबाहेक अन्य जग्गामा हाल साबिक गर्न नपर्ने

थानकोट ।
अब विवादितबाहेक अन्य अवस्थामा जग्गाधनीहरूले आफ्नो जग्गाको हालसाविक गर्न नपर्ने भएको छ ।
मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलवार बसेको सचिव बैठकले जग्गाको विवरण अद्यावधिक (हालसाविक) गर्दा बहुसंख्यक जग्गा धनीले दुःख पाएको र अनावश्यक हैरानी खेप्नुपरेको गुनासाहरू व्यापक आएकाले विवादितबाहेक अन्य कुनै पनि अवस्थामा जग्गा हालसाविक गर्न नपर्ने गरी आवश्यक सेवा प्रबन्ध गरिने निर्णय भएको छ ।
यसका लागि तत्काल भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उचित प्रबन्ध गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
सार्वजनिक जग्गा, सडक विस्तार, सँधियारसँग हकभोगको विवाद परेको अवस्थामा बाहेक अन्य अवस्थामा हालसाविक गर्न नपर्ने गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सचिव बैठकले निर्देश गरेको छ । सोहीअनुसार अब मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने छ ।