केयूका नवनियुक्त उपकुलपति वाग्लेले लिए शपथ

थानकोट ।
काठमाडौं विश्वविद्यालय (केयू) का नवनियुक्त उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेलाई शपथ ग्रहण गराएका हुन् ।
कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा. वाग्लेलाई सोमबार नियुक्त गरेका हुन् ।
विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम वाग्लेलाई नियुक्त गरिएको हो ।
शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन शुभकामना दिए ।
नवनियुक्त उपकुलपति प्रा. डा. वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए ।