यी हुन यसवर्षको एसइईका लागि चन्द्रागिरि नगरमा कायम परीक्षा केन्द्र

Thankot Times

थानकोट । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले भने, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।”

कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन्, भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।

यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए ।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।

लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।

२०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

चन्द्रागिरि नगरमा यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चन्द्रागिरि नगरपालिका क्षेत्रका दुई हजार २७९ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

चन्द्रागिरि नमुना वैकल्पिक विद्यालयका परीक्षार्थीले अमरज्योति मावि स्युचाटार केन्द्रबाट परीक्षा दिँदैछन् । यस्तै,विद्यामन्दिर मावि नैकाप र कंकाली मावि पुरानो नैकापका परीक्षार्थीले जनपथ मावि कलंकी परीक्षा केन्द्रबाट परीक्षा दिँदा बलम्बु माविका परीक्षार्थीले एलआरआइ स्कुल कलंकी परीक्षा केन्द्रबाट परीक्षा दिने बताइएको छ । चन्द्रागिरि नगर क्षेत्रका विभिन्न पाँच विद्यालयमा परीक्षा केन्द्र तोकिएका छन् ।

चन्द्रागिरि नगरका कुन परीक्षा केन्द्रमा कति परीक्षार्थी हेर्नुहोस सूचीः

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *