काठमाडाैं जिसस कप फुटबलः चन्द्रागिरि नगरले आज बुढानीलकण्ठको सामना गर्दै

थानकोट ।
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा गत शनिबारबाट सुरु भएको जिसस काठमाडाैं कप फुटबल प्रतियोगितामा समुह बी मा रहेका चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच खेल हुँदैछ ।
पहिलो खेल हारेको बुढानीलकण्ठ आज चन्द्रागिरि विरुद्ध सुखद नतिजा निकाल्ने लक्ष्यसाथ मैदान उत्रँदा चन्द्रागिरि भने पहिलो खेलमै जित हात पार्दै प्रतियोगिताको दोश्रो चरण प्रवेश गर्ने लक्ष्यमा हुनेछ । यो खेल बिहान १० बजे हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा सुरु हुनेछ । आजको खेलमा पनि पराजित भएमा बुढानीलकण्ठको प्रथम काठमाडाैं जिसस कपको यात्रा सकिनेछ ।
आज नै बिहान ८ बजे समुह ए मा रहेका नागार्जुन र कीर्तिपुरबीच खेल हुने तालिका रहेको छ । नागार्जुन पहिलो खेलमा दक्षिणकालीसँग १-० पराजित भएको थियो । कीर्तिपुरको भने यो पहिलो खेल हो ।
यसअघि शनिबार सम्पन्न खेलमा बुढानीलकण्ठ तारेकश्वरविरुद्ध १-० ले पराजित भएको थियो । समुह चरणको अन्तिम खेलमा बुधबार चन्द्रागिरि र तारकेश्वर भिड्नेछन् ।
प्रतियोगितामा काठमाडाैंका विभिन्न ६ स्थानीय तहले भाग लिएका छन् । प्रतियोगिताको समुह ए मा दक्षिणकाली, नागार्जुन, कीर्तिपुर नगर रहेका छन भने समुह बी मा चन्द्रागिरि, बुढानीलकण्ठ र तारकेश्वर रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
यस्तो छ चन्द्रागिरि नगरको टिम सेटः
मुख्य प्रशिक्षकः रमेश बुढाथोकी, सहायक प्रशिक्षकः हिराकाजी महर्जन, अफिसियलः समीरजंग कार्की, खेलाडीः राजिव श्रेष्ठ, सुसान्त घिमिरे, अनलि गुरुङ, रोहित थापा, सिल्भा कान्दङ्वा, सबल महर्जन, विशाल गोपाली, सायस श्रेष्ठ, अभिमान सिंह बस्नेत, सक्सम शाही, रोहन बुढाथोकी, आयुष्मान श्रेष्ठ, रन्जन श्रेष्ठ, साहिल राना, साहिल अधिकारी, अविरल रिजाल, विश्वास परियार र विजय थापा