नागढुङ्गा सुरुङ मार्गमा स्थानीयको छैैठाैं पटक अवरोध, दैनिक ५० लाख घाटा

थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ टुटीपाखा र धुनिवेशी नगरपालिका-९ सिस्नेखोलामा निर्माणाधीन राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माणमा स्थानीयले छैठाैं पटक अवरोध गरेका छन् ।
दैनिक ४ सय मजदुर कार्यरत आयोजनाको धादिङ र काठमाडाैं दुवै तर्फको पोर्टमा आइतबारबाट काम ठप्प भएको छ ।
सुरुङ मार्ग आयोजनाले खानेपानी व्यवस्थापनमा दीर्घकालीन व्यवस्था नगरेको भन्दै चन्द्रागिरि नगरपालिका-२ का स्थानीय आन्दोलनमा उत्रँदा सुरुङमार्गको काम ठप्प बनेको हो ।
आइतबार बिहान ७ः३० बजे प्ले-कार्डसहित टुटीपाखास्थित सुरुङ मार्गको आयोजना कार्यालय र सुरुङ मार्गको प्रवेशद्वार घेर्न पुगेका स्थानीयले दिनभर काम अवरोध गरेका हुन् ।
एक दिन काम बन्द हुँदा ५० लाखभन्दा बढी घाटा हुने गरेको निर्माण कम्पनीले जनाएको छ ।
आयोजनाले प्रभावित क्षेत्रका स्थानीयको धेरै माग सम्बोधनसमेत गरिसकेको बताएको छ । केही माग सम्बोधन हुने क्रममा छन् । आयोजनासँग गरिएका सहमति कार्यान्वयन नहुने देखेर संघर्षका कार्यक्रम सुरु गरिएको चन्द्रागिरि नगरपालिका–२ का पूर्व वडाध्यक्ष एवं नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर अध्यक्ष गोपी सुर्खेतीको दाबी छ ।
‘खानेपानी पर्याप्त भयो, तर यो आयोजना चन्द्रागिरि नगरपालिकालाई हस्तान्तरण गरेपछि उसैले स्थानीयलाई पानीको व्यवस्थापन गर्छ,’ सुर्खेतीले भने, ‘अहिलेसम्म खानेपानी, त्यसमा प्रयोग हुने विद्युत्, कर्मचारी र मर्मतसम्भारको व्यवस्थापन आयोजना आफैंले गर्दै आएको छ, नगरपालिकाले जिम्मा लिएपछि स्थानीयले पानीको शुल्क तिर्नुपर्छ । तर हामीलाई निःशुल्क खानेपानीको व्यवस्था गरिनुपर्छ ।’ सुरुङका कारण खानेपानीका मुहान सुकेपछि आयोजनालाई पानीको व्यवस्था गर्न भनिएको उनले जनाए ।
स्थानीयले आज सोमबार पनि बिहानैबाट विरोध कार्यक्रम जारी राख्ने बताएका छन् ।
नागढुङ्गा सुरुङमार्ग निर्माणमा पुनः अवरोध, स्थानीयले सुरुङमा टाँगे ब्यानर (भिडिवो)