नागढुङ्गा सुरुङमार्ग निर्माणमा पुनः अवरोध, स्थानीयले सुरुङमा टाँगे ब्यानर (भिडिवो)

थानकोट ।
खानेपानी व्यवस्थापन लगायतका विभिन्न माग गर्दै चन्द्रागिरि नगरपालिका-२ का स्थानीयले आइतबार बिहानदेखि राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको निर्माणमा अवरोध गरेका छन् ।
आयोजनाले स्थानीयबासीसँग यसअघि गरेको सहमति कार्यान्वयन नभएको स्थानीयबासीको आरोप छ ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार स्थानीयले खानेपानी, चर्किएका घरहरूको क्षतिपूर्ति, खेतीयोग्य जमिनमा सिँचाइको विकल्पको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न माग राखेर आन्दोलन गरेका हुन् ।
स्थानीयले आफ्ना मागहरू पूरा नगरेसम्म काम गर्न नदिने अडान लिई सुरुङको प्रवेशद्वार अगाडि ब्यानरसमेत टाँगिएको पन्थीको भनाइ छ ।
आइतबार बिहान सयाैं स्थानीयले सुरुङ मार्गको चन्द्रागिरि नगरपालिका तर्फको पोर्टलमा पुगी नाराबाजी गर्दै ब्यानर टाँगेका छन् ।
यसअघि गत फागुन १८ मा धादिङतर्फका स्थानीयले विभिन्न माग गर्दै निर्माण कार्यमा अवरोध गरेका थिए । (भिडिवोमा हेर्नुहोस)
अहिले सुरुङ मार्गको निर्माण कार्य धुनिवेशी र चन्द्रागिरि दुवैतर्फ रोकिएको छ । स्थानीयसँग छलफल गरेर समाधानको प्रयास भइरहेको आयोजनाले जनाएको छ ।