एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत सहितको टोली चन्द्रागिरि साकोसमा

थानकोट ।
एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि सानरोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सहितको टोलीले शुक्रबार चन्द्रागिरि नगरपालिका वडा नं. ७ थानकोट चेकपोष्टस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको स्थलगत भ्रमण गरेको छ ।
भ्रमणको क्रममा सहकारी अभियानको प्रवर्द्धन, संस्थाहरुको सवलीकरण र दिगो सञ्जालीकरण र सदस्यहरुलाई आर्थिक रुपले सुदृढ बनाउने विषयमा छलफल भएको चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
एशियाली ऋण महासंघ (आकू) का उच्च व्यवस्थापनका सदस्यहरूलाई चन्द्रागिरि साकोसका अध्यक्ष शिवशंकर मानन्धरले स्वागत गर्दै भ्रमणले चन्द्रागिरिको दिगो विकास र नेपालको साकोस अभियानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनले सहकारी मूल्य, सिद्धान्त तथा व्यवसायिक सञ्चालनलाई प्रभावकारी बनाउन आकु र नेफ्स्कुनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
आकूका प्रमुख कार्यकारी अधिकृत लेनीले एशियाली बचत तथा ऋण सहकारी संस्थाहरुको सशक्तिकरणमा एशियाली ऋण महासंघको भूमिका रहने कुरा दोहाेर्याउँदै सहकारीहरु विचको सहकार्य, संस्थाको वित्तीय सुरक्षा र सदस्य केन्द्रित सेवाले दिगो साकोस निर्माण र वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने कुरामा जोड दिईन ।
त्यसैगरी आकूका प्रमुख प्राविधिक अधिकृत रञ्जितले सहकारीहरुलाई प्राविधि मैत्री बनाउन आवश्यक कदमहरुको बारे धारणा राखेका थिए ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेपालमा साकोस अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रीय संघ र प्रारम्भिक संस्थाबीचको सहकार्य प्रभावकारी हुनुपर्ने र चन्द्रागिरि साकोसलाई महत्वका साथ राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाहरुले नियालिरहेको विचार व्यक्त गरे ।
सो क्रममा चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको गतिविधि योजना र प्राथमिकताहरुको बारेमा प्रस्तुतीकरण राख्दै चन्द्रागिरि साकोसले वित्तीय स्थिरता, सदस्यहरुको समुन्नती, सुशासन र समुदायको विकास अबको प्राथमिकताका क्षेत्र रहेको विषयमा प्रकाश पारेका थिए।
यसैगरी संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक भानुप्रकाश ढकालले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै सहकारी अभियानलाई मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास व्यक्ति गरेका थिए ।
आकूको भ्रमण दलको स्वागत कार्यक्रममा चन्द्रागिरि साकोस सञ्चालक समितिका पदाधिकारीहरू, लेखा सुपरिवेक्षण समितिका संयोजक, उच्च व्यवस्थापनका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।