महिला टी-२० आई सिरिज: नेपाल नामिबियासँग, अंक तालिकामा नेपाल पुच्छरमा

थानकोट ।
युगान्डामा जारी चार देशीय टी-२० आई सिरिजमा नेपालले तेस्रो हार बेहोरेको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो ।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले १०२ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि साना प्रवीणले सर्वाधिक ३१ रन बनाइन् ।
जारी सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी सानाले ३७ बल खेल्दै ३१ रन बनाएर आउट भइन् । ओपनर सम्झना खड्का २, पुजा महतो १५, कप्तान इन्दु बर्मा १५, रुविना क्षेत्री ७ रनमा आउट हुँदा कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहे । बलिङमा नामिबियाकी एभलिन केजारुकुआले सर्वाधिक २ विकेट लिइन् ।
त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे ।
त्यसअघि आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युगान्डालाई एक विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।