मध्यरातमा फेसबुक लाइभ गर्दै थानकोट चेकपोष्टमा एक युवाले आफैंलाई आगो लगाए

थानकोट ।
चन्द्रागिरि नगरपालिकामा एक युवाले मध्यरात फेसबुक लाइभ गर्दै आफैंलाई आगो लगाएका छन् ।
विभिन्न सामाजिक गतिविधिहरूमा सक्रियता देखाउँदै अभियन्ताको पहिचान बनाएका चेकपोष्ट वाणस्थलीका स्थानीय उत्तम कार्कीले बुधबार (१२ः०३ बजे) मध्यरातमा आत्मदाह प्रयास गरेका हुन् ।
फेसबुकमा लामो स्टाटस लेख्दै आत्मदाह प्रयास गरेका कार्कीको तत्काल उद्दार गरी कीर्तिपुरस्थित जलन अस्पताल पुर्याइएको थियो । जहाँ उनको उपचार भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ । प्रहरी वृत्त थानकोटका अनुसार कार्कीको शरिरको १२ प्रतिशत भाग जलेको छ । उनलाई कम्तीमा २४ घण्टा सघन कक्षमा राख्न चिकित्सकले सुझाएको प्रहरीको भनाइ छ ।
आफैंलाई आगो लगाउनुअघि कार्कीले आफुलाई विभिन्न व्यक्तिले अनेक बहानामा लामो समयदेखी मानसिक तनाव दिँदै आएको, पटक पटक थुनामा परेको, कतैबाट आफ्नो भनाइ नसुनिएको र आत्महत्या गर्न बाध्य पारेको आशय फेसबुकमा व्यक्त गर्दै केही व्यक्तिको नाम समेत उल्लेख गरेका छन्।
मध्यरातमा कार्कीले आफैंलाई आगो लगाएको भिडियो सार्वजनिक भएपछि उनको उद्दारमा पुगेका गुर्जुधाराका रामनारायण घिमिरे, चेकपोष्टका सुवास श्रेष्ठ, वाणस्थलीका दीपेश कार्की, बलम्बुका सञ्जयदेव महर्जन लगायत तथा प्रहरी वृत्त थानकोटको टोलीले कार्कीलाई एम्बुलेन्समा कीर्तिपुर जलन अस्पताल पुर्याएका थिए ।
घाइते कार्कीको अवस्था खतरामुक्त रहेपनि जलनको विषय रहेकोले केही अवधि कडा चिकित्सकीय निगरानीमा राख्नुपर्ने भनाइ रहेको उद्दारमा खटिएका घिमिरेले थानकोट टाइम्सलाई जानकारी दिए ।
छानबिन गर्न मागयसैबीच चेकपोष्ट वाणस्थलीका उत्तम कार्कीले फेसबुक लाइभ गर्दै आफैंलाई आगो लगाएको विषय सामान्य नभएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता सयाैं जनाले घटनाको सत्यतथ्य छानबिनका लागि माग गरेका छन् । कार्कीले श्यर गरेको लाइभ भिडियोको कमेन्टमा उनीहरूले कुनै व्यक्तिलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने विषयको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेका हुन् । कार्कीले नाम किटान गरेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन् ।
प्रतिकात्मक तस्वीर