महिला टी-२० आई सिरिजः तेस्रो खेलमा नेपाल हङकङसँग २ रनले स्तब्ध

Thankot Times

थानकोट । 

अफ्रिकी मुलुक युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङसँग झिनो अन्तरको हार सामना गरेको छ ।

सोमबार भएको खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको हो । हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउँदै १९औं ओभरको अन्तिम बलमा आउट भएकी थिइन् । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहँदा नेपालले ७ रन मात्र जोड्न सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपालसामू १०१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङले २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको हो ।

हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलले २१ रन बनाइन् ।

नेपालका लागि ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले २-२ विकेट लिँदा रचना चौधरी र पुजा महतोले १-१ विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले आइतबार युगाण्डालाई हराएको थियो ।

तस्वीरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *