आजबाट फागु पर्व सुरु

थानकोट ।
हरेक वर्ष फाल्गुन शुक्ल अष्टमीको (चिल्लाथ्व अष्टमी) दिन हनुमानढोका दरबार अगाडि र वसन्तपुरमा चीर उठाएपछि काठमाडौमा १ हप्ता फागु पर्व सुरु भएको मानिन्छ।
मल्लकालमा वसन्तपुरमा ठूलो चीर उठाएसँगै दरबारबाट राजाले जनतालाई अबिर केशरी छर्किदिएपछी फागुको रौनक सुरु हुने मानिन्थ्यो।
पाटनमा पनि दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर अगाडि रुखको हाँगामा विभिन्न कपडाको टुक्राहरु झुण्ड्याएर चीर राखिएपछी फागुको सुरुवात भएको मानिन्छ। काठमाडौमा र पाटनमा फागुको चीर सम्बन्धी श्रीकृष्णसँग किंवदन्ती गाँसिएको पाइन्छ। कृष्णले गोपिनीहरु स्नान गर्न गएको समयमा उनीहरुको लुगा चोरेर रुखमा झुण्ड्याइदिएको कथामा आधारित यस चीरमा रंगीविरंगी कपडाका टुक्राहरु राखेर उठाउने गरिन्छ।
काठमाडौ र पाटनको भन्दा फरक प्रसङ्ग रहेको भक्तपुरमा भने तचपाल स्थित भिमसेन मन्दिरमा भिमसेनको लिंगको रुपमा काठको लिंग र द्रौपदीको योनीको रुपमा रातो कपडा राखी समागम गरेपश्चात् फागु सुरु भएको मानिन्छ। भिमसेनको लिङ्गको प्रतिकको रुपमा रहेको लिङ्गलाई भिमसेन मन्दिरबाट निकाली विभिन्न स्थानमा लागि पूजाआजा गरेपछी साँझ पाटीमा झुन्ड्याइन्छ र १ हप्ता राख्ने गरिन्छ। यसरी राखिएको भिमसेनको लिङ्गलाई द्रौपदीको योनीको प्रतिकको रुपमा रहेको कपडामा धकेलेर छिराएमा सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको पाइन्छ। यसरी पुरानो समयमा यौनको शिक्षा दिँदै भक्तपुरमा फरक किसिमले फागुको सुरुवात हुने गर्दछ।
काठमाडौ, पाटन र भक्तपुरमा राखिएको यी चीरहरु फागु पूर्णिमाको भोलिपल्ट चीर दहन गर्ने गरिन्छ। काठमाडौको चीर टुँडिखेलमा लगेर दहन गर्ने गरिन्छ भने भक्तपुरको चीरलाई ब्रम्हायणी पीठ नजिकै खोलामा लगेर पखालेपछी समापन हुने गर्दछ।
आज चीराष्टमीको दिन तीनै शहरमा चीर स्वायेगु गरेसँगै उपत्यकामा होलीको सुरु भएको छ ।
तस्वीरः प्रदिप महर्जन