चन्द्रागिरि निवासी सुजल बम ५० जना प्रभावशाली महिलाको सूचीमा

थानकोट ।
अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला’ को सूची सार्वजनिक गरेको छ ।
अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले खुला आह्वानसँगै काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष, सातै प्रदेशका प्रदेश कार्यालय र प्रवासमा रहेका सहकर्मीहरूबाट सम्भावित ४ सय ६० बढीको प्रारम्भिक सूची तयार गरेको थियो ।
सूची तयार पार्ने क्रममा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको थियो । त्यसलाई अनलाइनखबरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मीरा खड्का नेतृत्वको निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेको थियो ।
समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘५० प्रभावशाली महिला’ छनौटको उद्देश्य हो ।
सूचीमा डोटीको बोगटान स्थायी वतन भएकी सुजल बम समेत समेटिएकी छन् । जन्मिंदै श्रवणशक्ति गुमाएकी बमको परिवार अहिले चन्द्रागिरि नगरमा बस्दै आएको छ ।
सुजल धेरै नेपाली अपांगता भएका युवा पुस्ताको लागि प्रेरणाको स्रोत हुन् । जसले सबलांगसँग प्रतिस्पर्धा गरेर पहिचान बनाउने कार्य गरिरहेकी छिन् र सौन्दर्य प्रतियोगिताको मानक बदल्न भूमिका खेलेकी छिन् ।