शुक्रबार मध्यरात बोसिगाउँमा सल्किएको आगो ७ वटा दमकल प्रयोग गरी नियन्त्रणमा (भिडिवो)

थानकोट ।
चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँस्थित हिरा ईट्टा भट्टानजिकै रहेको प्लाष्टिक बोतल कवाडी गोदाममा विद्युत सर्ट हुन गई भएको आगलागी तीन घण्टापछि निन्त्रणमा आएको छ ।
प्रहरीका अनुसार रमेश पोदारले संचालन गरिरहेको सो गोदाममा शुक्रबार बिहान करिब १ः२० बजेबाट सुरु भएको उक्त आगलागी नियन्त्रणमा लिन चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाबाट दमकल बोलाइएको थियो । सो क्रममा खानेपानी ढुवानी गर्ने दर्जनाैं ट्याँकरसमेत प्रयोग गरिएको थियो ।
सात वटा दमकल, चन्द्रागिरि नगर प्रहरी बल, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयको अग्रसरतामा बिहान पाैने ५ बजे सो आगलागी नियन्त्रणमा लिइएको बताइएको छ ।
सो क्रममा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको चन्द्रागिरि नगरपालिका वडा नं १० का वडाध्यक्ष शिवकुमार महर्जनले जानकारी दिए ।
आगलागी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं.९ पशुपतिनाथ बाहिनी मुख्यालयबाट २० जना, निलबाराही गणबाट २१ जना सशस्त्र प्रहरी, प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट ४५ जना नेपाल प्रहरी, चन्द्रागिरि नगर प्रहरी १५ जना तथा स्थानीय बासीहरू खटिएका थिए ।
तस्वीरः रवीन पोखरेल