१ केजी सुन ल्याएबापत भरियालाई ५ सय डलर, चन्द्रागिरिमा घुमघाम अफर !

थानकोट ।
फागुन १४ को साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वाक-थ्रु गेट पार गरिसकेका ४ जना उज्वेकिस्तानका नागरिक पक्राउ परे ।
उनीहरू पक्राउ परेको करिब ३ घण्टाको प्रयासपछि आरोपीहरूले मल:द्वारमा लुकाएर ल्याएको सुन प्रहरी अधिकृतहरूले बरामद गरे ।
सुन ल्याउनेमा उज्वेकिस्तानको तास्केन्त सिटीमा बस्दै आएका ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमिदा र ५४ वर्षीया मारिफालिभा दिलफुला छन् । तीनैजना फ्लाई दुबईको एउटै उडानमार्फत नेपाल आएका हुन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीका गर्न भनेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
विमानस्थल भन्सार कार्यालयका उपसचिव अर्जुन न्यौपाने नेतृत्वको टिमले त्यसबारे अनुसन्धान गरिरहेको छ । विमानस्थल भन्सार कार्यालयका उपसचिव शान्तिराम निरौला भन्छन्, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेका छौँ ।’
नेपालमा पुगेपछि होटलमा पैसा नलाग्ने र चन्द्रागिरिमा घुमाइदिने सर्तमा उनीहरू दुबईबाट मलद्वारमा सुन लुकाएर नेपाल आएको भेटिएको छ । अनुसन्धान अधिकृत भन्छन्, ‘चन्द्रागिरि घुमाउने र होटल खर्च नलाग्ने भनेर तस्करले आरोपीहरूलाई सुनको भरियाको रूपमा प्रयोग गरेको देखिन्छ ।’ रातोपाटीमा खबर छ ।