कलंकीमा कुकुरलाई बन्धक बनाएर ३ दिनदेखि खाना र पानीसमेत दिइएन

Thankot Times

थानकोट ।

कुकुरलाई बन्धक बनाएर बच्चा उत्पादन गर्दै बेच्ने धन्दा व्यापक छ। यसरी बच्चा उत्पादनकै लागि मात्र कुकुर पाल्नेहरूले हदैसम्म क्रुर व्यवहार गरेको पाइन्छ । यसरी नै पालिएका कुकुरहरूलाई चार दिनदेखि खाना र पानीसमेत नदिई बन्धक बनाएको भन्दै स्थानीयले उद्वारका लागि गुहार मागेका छन्।

घटना काठमाडौं कलंकीको हो । मकालु पेट्रोल पम्प भन्दामाथि इन्द्रेणी मार्गका ती व्यक्तिले कुकुरको बच्चा उत्पादन गरी बेच्नका लागि तीन वटा कुकुरलाई छतमा बाँधेर राखेका छन् ।

सो व्यक्तिले चार दिनदेखि उनीहरूलाई खाना र पानीसमेत नदिएको छिमेकीले बताएका छन् । ‘घरमा मान्छे नै छैन, ताला चाबी लगाएका छन्’ उनी भन्छन्, ‘चार दिनदेखि ती कुकुरहरूले न खान पाएका छन्, न पानी ।’

छतमा छोटो साङ्लाले बाँधिएका कुकुरहरू चर्को घाममा छटपटाउँदै बस्न बाध्य छन् । ‘अस्ति पानीमा रातभर भिजेछन्’ उनले सुनाए ‘जाडोले रुन र कराउन थालेपछि मात्र आसपासका छिमेकीले कुकुर विजोग अवस्थामा रहेको देखे ।’

घरको सबै ढोकामा ताल्चा लगाएर ती व्यक्ति र उनकी श्रीमती बाहिर गएका छन् । कुकुरलाई भने छतमा यत्तिकै बाँधेर छाडेका छन् । दुई वटा साइबेरियन हस्की र एउटा कुकुर स्पाइनियल प्रजातिको कुकर छन् ।

हस्की महंगो प्रजातिको कुकुरमध्येमा पर्छ । त्यसैले हस्कीको बच्चा उत्पादन गर्दै विक्री गर्ने धन्दा व्यापक छ । जब कि यो एकदमै चिसो ठाउँमा बस्ने कुकुर हो । त्यस्तै स्पाइनियल जातको कुकुरको पनि बजारमा उच्च माग हुने भएकाले यसलाई बन्धक बनाएर बच्चा उत्पादन गर्दै बेच्ने धन्दा चलेको छ ।

सो व्यक्तिले बन्धक बनाएको स्पाइनल जातको सुत्केरी कुकुर केही दिनअघि मरेको उनका छिमेकीले बताए । ‘त्यसको पाँच, छ वटा बच्चा दूध खान नपाएर मर्‍यो’ छिमेकीले सुनाएको अनलाइन खबरमा समाचार छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *