केपी ओली कपको उपाधिमा मच्छिन्द्र क्लबको ह्याट्रिक

थानकोट ।
फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध २-० को जित निकाल्दै मच्छिन्द्र फुटबल क्लबले लगातार तेस्रोपटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार साँझ खचाखच दर्शकमाझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे ।
मच्छिन्द्रले यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेता बनेसँगै मछिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेतामा चित्त बुझाएको आर्मीले पाँच लाखसहित प्रमाणपत्र र मेडल पाएका छन् ।
प्रतियोगिताको तेस्रो संस्करणमा दुई विदेशीसहित नौ टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको प्रमुख अतिथिका रुपमा इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन दशरथ रंगशाला पुगेका थिए ।