चन्द्रागिरि नगरपालिका वडा नं. ४ बालश्रम मुक्त वडा घोषणा

थानकोट ।
नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका वडा नं ४ क्षेत्रलाई बालश्रम मुक्त वडा घोषणा गरेका छन् ।
आइतबार आयोजित एक समारोहका बीच नगरप्रमुख गिरीले सो वडालालाई बालश्रम मुक्त वडा घोषणा गरेका हुन् ।
वडा बाल अधिकार समितिसँगको समन्वयमा बाल विकास समाज तथा वर्ल्ड भिजनको सहयोग तथा चन्द्रागिरि नगरपालिका वडा नं. ४ को आयोजनामा सो वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । यो सँगै चन्द्रागिरि नगरका ११ वटा वडा बालश्रम मुक्त वडा घोषणा भएका छन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गिरीले नगरपालिकाले नगरका सबै वडामा बालमैत्री सु-शासन व्यवस्थापन भएको घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
बालश्रममुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि आफूहरूले अग्रसरता लिएको नगरप्रमुखको भनाइ थियो । २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने नगरप्रमुख घनश्याम गिरीको भनाइ छ ।
चन्द्रागिरि नगरका १५ वडा मध्ये वडा नं. १ दहचोक, वडा नं. १२ बलम्बु, वडा नं. १३ पुरानो नैकाप र वडा नं. १५ तीनथाना बालश्रम मुक्त वडा घोषणा हुन बाँकी रहेका छन् ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम मुक्त वडा घोषणा गर्दैगर्दा थप जिम्मेवारी थपिएको धारणा राखिन् । भारतबाट आएका बालबालिकाहरूलाई चन्द्रागिरि नगरक्षेत्रमा श्रममा लगाएको पाईएकोले अनुगमन कार्यलाई प्रभाकारी बनाउनुपर्ने उनको भनाइ थियो ।
चन्द्रागिरि नगरका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष कृष्ण प्रसाद खड्गीले चन्द्रागिरि नगरले बालबालिका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको भएपनि नागरिक तथा बौद्धिक तहबाट यथोचित निगरानीको अभावले कार्यान्वयन पक्ष फितलो भइरहेको धारणा राखे ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ लाई बालश्रम मुक्त वडा घोषणा गर्नुअघि जनप्रतिनिधि, समाजसेवी, विद्यार्थी, स्थानीय संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी सम्मलित टोलीले वडा परिक्रमा गरेको थियो ।