छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली इरान प्रस्थान

थानकोट ।
छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे ।
मानमति विष्टको कप्तानीमा रहेको टोलीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन् ।
यही फागुन २० देखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी सात राष्ट्र सहभागी हुने छन् ।
सहभागीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ । अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा हरिना थापा र निर्णायकमा नितु गुरुङ रहेका छन् ।