राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न

Thankot Times

थानकोट ।

श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं.१९ सिनियर डिभिजन तालिमको आज सैनिक मञ्च टुँडिखेलमा दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् ।

सो अवसरमा क्याडेट छात्र छात्राहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री के.पी. शर्मा ओलीले दीक्षित क्याडेटहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

उनले हालको विश्व परिवेशमा नैतिकवान्, ऊर्जाशील, सृजनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको कुरा उल्लेख गर्दै राष्ट्रिय सेवा दल नेपाल उक्त जनशक्ति उत्पादनमा प्रयासरत रहेको बताए ।

प्रधानमन्त्रीले राष्ट्रिय सेवा दल तालिम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र बढी भन्दा बढी युवा विद्यार्थीहरूलाई यस तालिममा समेट्न प्रयास भइरहेको कुरा बताउँदै युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन तालिमको ठुलो महत्त्व रहेको धारणा राखे ।

त्यस अवसरमा सम्माननीय प्रधानमन्त्रीले यस वर्षको तालिममा सर्वोत्कृष्ट छात्रा श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुरकी रेजिमा भण्डारी क्षेत्री, सर्वोत्कृष्ट छात्र गोल्डेन गेट कलेज, काठमाडौँका अनुश खत्री र सर्वोत्कृष्ट प्लाटुन भि.एस. निकेतन सेकेण्डरी स्कुल, मिनभवनलाई पुरस्कार प्रदान गरे ।

समारोहमा राष्ट्रिय सेवा दलका सह संरक्षकद्वय रक्षा मन्त्री मानवीर राई एवं प्रधान सेनापति अशोक राज सिग्देलले दीक्षित क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । 

दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी याम प्रसाद ढकाल (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पूर्व प्रधान सेनापति, विभिन्न मन्त्रालयका सचिवहरु, बलाधिकृत, बलाध्यक्ष, नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी, सैनिक श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरू, सञ्चारकर्मी, एनसीसी अल्मुनि एशोसियसन नेपालका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा यूथ एक्चेन्ज प्रोग्राममा सहभागी हुन आएका भारत, भुटान र माल्दिभ्सका नेशनल क्याडेट कर्पका अधिकृत तथा  क्याडेट छात्र छात्राहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय सेवा दल नेपालका क्याडेट छात्रछात्राहरूले सांस्कृतिक प्रस्तुति एवं विविध कलाकौशल प्रस्तुत गरेका थिए ।

यस वर्ष ७,७०४ जना क्याडेट छात्रछात्राहरूले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।

वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी जम्मा ८२,१८४ जनाले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *