नसर्ने रोग पहिचानका लागि चन्द्रागिरि नगरमा फागुन २२ गते निःशुल्क ‘स्क्रीनिङ’ अभियान

थानकोट ।
नसर्ने रोगको रोकथामका लागि चन्द्रागिरि नगरपालिकामा ‘स्क्रिनिङ’ अभियान सुरु गरिने भएको छ ।
नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले फागुन २२ गते बिहीबारका दिन स्क्रीनिङ अभियान सञ्चालन गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नसर्ने रोगहरू पहिचानका लागि एक महिने अभियान संचालन निर्देशिका-२०८१ मा उल्लेख भए बमोजिम चन्द्रागिरि नगरका सबै १८ वटै स्वास्थ्य संस्थाहरूबाट सो अभियान सुरु हुन लागेको हो।
अभियान कार्यक्रमले चन्द्रागिरि नगरमा नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको छ । ३० वर्ष उमेर पूरा गरेका नागरिकहरू यस अभियानका लक्षित वर्ग हुन् । अभियानमा उक्त उमेर समूहमा मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लड प्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच, शरिरको उचाइ र तौल अनुपात (बीएमआई) मापन परीक्षण हुनेछ ।
अभियानका क्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिने जनाइएको छ ।
सूचना हेराैं