कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँतेः मच्छेगाउँका स्वर्णिमलाई स्वर्ण, सानुमायालाई पनि स्वर्ण

थानकोट ।
ललितपुरमा जारी चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन शुक्रबार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ ।
४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो।
सातदोबाटोस्थित कराँते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा त्रिभुवन आर्मी क्लबका विनय लिम्बुलाई हराए।
स्वर्ण जित्ने क्रममा सोनिमले ४५.३ स्कोर गरे। विनयले ४१.९ स्कोर मात्र गरे। गण्डकी प्रदेशका वसन्त परियार र एपिएफ क्लबका मनुष कार्कीले कास्य पदक हात पारे।
महिला एकल कातामा आर्मीकी सानुमाया थिङ्ग पहिलो भइन्। उनले आफ्नै बहिनी एलिना थिङ्गलाई हराउँदै स्वर्ण जितिन्। उनले ४१. ८ स्कोर जोडिन्।
बागमतीकी एलिनाले ४०.६ स्कोरमा दोस्रो स्थानमा चित बुझाइन्। सानुमायाले क्वाटरफाइनलमा तीन पटककी राष्ट्रिय च्याम्पियन एलिसा रासकोटीलाई हराएकी थिइन्।
कातामा पुलिसको वर्चस्व रहँदा पुरूष र महिला दुवै टिम कातामा स्वर्ण पदक प्राप्त गर्यो। पुरुष टिम कातामा सोनिम मानन्धर, फुर्तेन तामाङ र जगत सिंह धानुकले ४२. २ स्कोरका साथ स्वर्ण जिते। बागमतीका अमृत थोकर, राज कुमार श्रेष्ठ र प्रनिल मानन्धरले ४०.९ स्कोर बनाएर रजत हात पारे।
नेपाल कराँते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको आयोजनमा आइतबारसम्म चल्ने प्रतियोगितामा महिला र पुरुषमा गरि कुल १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा सात वटै प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडीको सहभागिता छ।
कुमुतेमा महिलातर्फ ४५, ५०,५५,६१,६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ।
यो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी सिधै राष्ट्रिय कराँते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने नेपाल कराँते महासंघले बताइसकेको आयोजकले जनाएको हाम्रो खेलकुदमा खबर छ ।
फाइल फोटो