नेमकिपाको महाधिवेशन आजदेखि, नारायणमान बिजुक्छेंले नेतृत्व लिने सम्भावना कति ?

Thankot Times

थानकोट ।

आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन भक्तपुरमा हुने भएको छ । महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष नारायणमान विजुक्छें रोहितले गर्ने कार्यक्रम तय गरिएको छ ।

फागुन १९ गतेसम्म जारी रहने महाधिवेशनको उद्घाटन आज शुक्रबार दिउँसो १ बजे सल्लाघारी भक्तपुरस्थित खुल्ला चौरमा हुने जनाइएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बताए । महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि पर्यवेक्षकहरु बिहीबार नै भक्तपुर पुगिसकेको र केही आउने क्रम अझ जारी रहेको बताइएको छ ।

उद्घाटन अघि काठमाडौंको कोटेश्वर, भक्तपुरका विभिन्न पाँंच ठाउँंहरुबाट छुटाछुटै र्याली गरी सल्लाघारी उद्घाटनस्थलमा पुग्ने जनाइएको छ । बिहान १० बजे भेला भई बाजागाजाका साथ र्यालीसहित उद्घाटनस्थल सल्लाघारी भक्तपुरमा दिउँसो १ बजे पुग्ने जनाइएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा भक्तपुरका विभिन्न ठाउँंहरुमा सुकुन्दा र्याली निकालिएको छ । पार्टी र पार्टी निकटका जनवर्गीय संगठनहरुले छुटाछुटै रुपमा टोलटोलमा महाधिवेशनको प्रचारप्रसारका लागि र्याली निकालेका हुन् ।

पार्टीको स्थापना विक्रम संवत् २०३१ साल माघ १० गते भएको थियो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो ।

सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । ८५ वर्षका बिजुक्छे नेतृत्वको पार्टीमा आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने सङ्केत नेताहरूले गर्दै आएका छन् ।

सो पार्टीको प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवामा, दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *