दुई दिने शैक्षिक मेला आयोजना गर्दै काठमाडौं महानगरपालिका

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाले दुई दिने शैक्षिक मेला आयोजना गर्न लागेको छ ।

फागुन १६ र १७ गते राष्ट्रिय सभागृह परिसरमा आयोजना हुने मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रम समेटिने महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरुले सहजीकरण गर्नेछन् । प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरु नै हुने श्रेष्ठले बताए ।

विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको महानगरले जनाएको छ । यसरी थालिएका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सीपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको श्रेष्ठको भनाइ छ ।

मेलामा प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्पmत रुचि र नतिजा प्रदर्शन गर्नेछन् । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाकालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयहरुले दिवा खाजाका रुपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमै उपलब्ध गराइने भएको छ । यस्तै, नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिने महानगरले जनाएको छ । 

विद्यार्थी नमुना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्र्थीका अनुभूति कोरिएका एक हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेलाका आकर्षण रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *