कलंकीमा मन्त्रीका स्वकीय सचिवको मृत्यु प्रकरण: विपक्षी दलले मागे सहकारी मन्त्रीको राजीनामा

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा निधनबारे निष्पक्ष छानबिनका लागि प्रदेशसभाका विपक्षी दलहरूले मन्त्री श्रेष्ठको राजीनामा मागेका छन्। 

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिनका लागि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गरेका हुन्।

विज्ञप्तिमा नेकपा एकीकृत समाजवादीका सांसद वसन्त प्रसाद मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक कुमारी तामाङ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको उल्लेख गरिए पनि ‘सुसाइड नोट’ र अडिओ रेकर्डमा मन्त्रीश्रेष्ठसहित अन्य केही व्यक्तिको नाम रहेकाले तिनलाई पनि छानबिनको दायरामा ल्याउन उनीहरूले माग गरेका छन्। 

विज्ञप्तीमा भनिएको छ, ‘मृतक रवि थापाको अकल्पनीय मृत्युपछि प्रहरीले फेला पारेको सुसाइड नोट भनिएको पत्र तथा सहकारीसम्बन्धी मृतक रविको बाहिरिएको अडिओ रेकर्डमा मन्त्री मदुकुमार श्रेष्ठलगायत नेताहरूको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आशयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको छ। हामी यस घटनाको निष्पक्ष छानबिनका लागि सहज वातावरण निर्माण गर्न मा. मन्त्री मदुकुमार श्रेष्ठको राजीनामा माग गर्दछौँ।’

छानबिन प्रक्रिया स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनीहरूको जिकिर छ।

प्रदेश सभाका तीन विपक्षी दलले यस घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै सबै कोणबाट घटना छानबिन हुन जरुरी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *