धादिङमा ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

Thankot Times

थानकोट ।

धादिङको गल्छि गाउँपालिका-३ गुप्तेश्वर भिरमा ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

आदमघाटबाट गुप्तेश्वर मन्दिरमा गए राति २ बजे पानी बोकेर गएको बा प्र-०१-००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भई सडकबाट करिब छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका ६ का बर्ष १८ को प्रशान्त चेपाङ र सोही ठाउँका बर्ष २० को जयराम चेपाङ रहेको प्रहरी नायव उपरिक्षक हमालले बताए ।

दुर्घटनामा गजुरी गाउँपालिका ६ का बर्ष १९ को सिरिश चेपाङ र बर्ष १७ को सुरेस चेपाङ घाईको भएको र थप उपचारको लागी काठमाण्डौ रिफर गरिएको उनको भनाई छ ।

दुर्घटना भएको खबर पाएसँगै इलाका प्रहरी कार्यालय सुनौलाबजार र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी र सदरमुकाम धादिङबेंसीबाट गएका सोसियल भोलिन्टियर धादिङको टोलीले घाइतेहरूको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पुर्याएका थिए । प्रशान्त र जयरामको उपचारका क्रममा मृत्यु भएको हो ।

चालक गजुरी गाउँपालिका ६ बस्ने बर्ष २३ को दिनेश चेपाङले ट्यांकर फर्काउन पछाडि ल्याउने क्रममा दुर्घटना भएको र आफू हाम फालेर बाँचेको प्रहरीलाई बताएका छन्।

चालक चेपाङलाई  नियन्त्रणमा लिइ दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक हमालले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *