फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: फाइनलका लागि दुवै टोली तयार

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५ को फाइनलअघि दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताएका छन् ।

प्रतियोगिताको फाइनल खेल बुधबार आयोजक नेपाल र म्यानमारबिच खेलिँदै छ । फाइनल खेल दशरथ रंगशालामा साँझ १८ः०० बजे सुरु हुनेछ । फाइनलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

उनले यसअघिका तीन वटै खेलमा आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै फाइनलका लागि पनि आफूहरू तयार रहेको बताए । उनले उपाधि जित्न आफ्ना खेलाडीले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

म्यानमारका अधिकांश खेलाडी युरोप र अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्छन् । उनीहरूको खेल निकै राम्रो छ । तर, यो प्रतियोगितामा हाम्रा खेलाडीले पनि अब्बल प्रदर्शन गरेका छन् । म्यानमारविरुद्ध पनि हामीले गतिलो प्रदर्शन गर्याैँ। समग्रमा हामी फाइनलका लागि तयार छौँ,’ उनले भने ।

नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले पनि फाइनलमा आफू उत्कृष्ट खेल पस्कन तयार रहेको प्रतिक्रिया दिइन् । उनले म्यानमार बलियो टोली रहेको बताउँदै आफूहरूले प्रारम्भिक चरणको खेलमा पनि स्तरीय प्रदर्शन गरेको बताइन् ।

‘हाम्रा सबै खेलाडी फाइनलका लागि तयार छन् । अहिलेसम्म हामी सिल्भर मेडलमा छौँ । भोलि गोल्ड मेडलका लागि फाइट गर्नेछौँ । दुवै टिमले उपाधिका लागि खेल्ने हो । जसले राम्रो प्रदर्शन गर्छ उपाधि त्यसैले जित्ने हो । हामी आफ्नो तर्फबाट वेस्ट दिने प्रयास गर्नेछौँ’ उनले भनिन् ।

म्यानमारकी कप्तान बिन थेइङ तुनले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताइन् । उनले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताउँदै आफूहरूले फाइनलमा सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिइन् ।

म्यानमारका प्रशिक्षक तेत्सुको युकीले पनि आफ्ना खेलाडी फाइनलका लागि तयार रहेको बताए । उनले भने, ‘अहिलेसम्म हाम्रा खेलाडीले गतिलो प्रदर्शन गर्दै आएका छन् । हामी फाइनलका लागि तयार छौँ , आशा छ, मेरा खेलाडीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछन्’ उनले भने ।

तस्वीरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *