च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश

थानकोट ।
च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्ड समूह चरणको अन्तिम खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको हो ।
समूह ‘ए’बाट भारत पनि सेमिफाइनलमा पुगेको छ । अब समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबीच हुनेछ । बङ्गलादेश र पाकिस्तान अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छन् ।
हिजोको खेलमा बङ्गलादेशले दिएको २ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्याे ।
न्युजिल्याण्डको जीतमा रचिन रविन्द्रले सर्वाधिक १ सय १२ रन बनाए । बङ्गलादेशका लागि रिषद होसैन, नहिद राना, मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए ।
त्यसअघि पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । बङ्गलादेशका लागि कप्तान नजमुल हसन शान्तोले सर्वाधिक ७७ रन जोडे ।
न्युजिल्याण्डका माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट लिए ।
जीतसँगै न्युजिल्याण्ड दुई खेलमा अपराजित रहँदै समूह ‘ए’को शीर्ष स्थानमा छ । बङ्गलादेश दुई खेलमा अङ्कविहिन छ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । खेल दिउँसो पौने ३ बजे शुरू हुनेछ ।