केपी ओली कपका निम्ति नेपाल आउँदै इटालियन लेजेन्ड बुफोन

थानकोट ।
इटालियन लेजेन्ड जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । सन् २००६ मा इटालीले विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य रहेका बुफोन ‘केपी ओली कप’का निम्ति नेपाल आउन लागेका हुन् ।
प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलले बुफोन नेपाल आउने निश्चित भएको पुष्टि गरे । उनले बुफोन प्रतियोगिताका दौरान नेपाल आउने निश्चित भए पनि समय भने तय भइनसकेको बताए ।
“केपी ओली कपका निम्ति इटालीका बुफोन नेपाल आउँदै छन् । प्रतियोगिता सुरु हुन दुई दिनमात्र बाँकी छ, त्यसैले उद्घाटनमा आउन अहिले सम्भव देखिँदैन । तर, प्रतियोगिताका दौरान उनी उपस्थित हुनेछन्,” प्रवक्ता पौडेलले बाह्रखरीसँग भने ।
युवा संघका अर्का एक उच्च अधिकारीका अनुसार, बुफोन प्रतियोगिताको समापन समारोहमा उपस्थित हुने सम्भावना उच्च छ । बुफोनको नेपाल बसाइँ करिब एक हप्ताको हुने उनको भनाइ छ ।
इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् । सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्यास लिएका थिए ।