दोश्रो सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ स्कुललाई

थानकोट ।
कीर्तिपुरमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नेपाल एपीएफ स्कुलको ए टीमले जितेको छ ।
बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरको चुनाैती ५-० पन्छाउँदै आयोजक एपीएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एपीएफले ६० हजार नगद पुरस्कार पाउँदा दोश्रो बनेको सैनिक आवासीय महाविद्यालयले २० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा नेपाल पुलिस क्लब साँगा तेस्रो बन्यो, नेपाल पुलिस स्कुलले नगद १० हजार रुपैयाँ हात पार्यो ।
विजेता तथा उपविजेताहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार वितरण गरे ।
कार्यक्रममा नेपाल एपीएफ विद्यालयका विद्यार्थीहरुले मार्च पास, कराँते र तेक्वान्दोको कला प्रदर्शन, मास पि.टी. तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ एपीएफ स्कुलका खेलाडीहरूले क्लीन स्वीप गरे जसमा सर्वोत्कृष्ठ गोलरक्षक नेपाल एपीएफ स्कुलका रोशन बुढा चुनिए । १६ गोल गरेका विकास बोहोरा सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी तेन्जिङ शेर्पा चुनिए ।
फेयर प्ले अवार्ड मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन होमले प्राप्त गर्यो ।
माघ तेस्रो साताबाट जारी प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
विद्यालय स्थापना दिवसको अवसरमा नेपाल एपीएफ स्कुलले गत वर्षबाट अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।