गुर्जुधारासहितका यातायात व्यवस्था कार्यालयमा भएका करिब २३ लाख ढड्डा डिजिटाइजेसन गरिने

थानकोट ।
बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा अन्य दस्तावेज डिजिटाइजेसन सुरु गरेको छ ।
यसका लागि एक सय जना डेटा इन्ट्रीकर्ता खटाइएका छन् । सवारीधनीहरूलाई आफ्ना सक्कल फाइल यातायात कार्यालयमा बुझाउन सूचना जारी गरिएको छ ।
यातायात व्यवस्था कार्यालय, मोटरसाइकल गुर्जुधाराले लट नम्बर १ देखि ५५ सम्मका सवारीधनीलाई आफ्ना सक्कल फाइल १५ दिनभित्र कार्यालयमा बुझाउन आग्रह गरेको छ । कार्यालयमा दर्ता भएका दुईपांग्रे सवारीसाधनको विवरण डिजिटाइजेसनका लागि फाइल मागिएको हो ।
यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी एकान्तकुना, यातायात व्यवस्था कार्यालय भरतपुर (चितवन) र हेटौंडाले पनि फाइल व्यवस्थापनका लागि पहल गरेका छन् ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पहिलो चरणमा एकान्तकुना, गुर्जुधारा, हेटौंडा र भरतपुरमा डेटा इन्ट्रीको काम सकाउने र त्यसपछि बनेपा र खुर्कोटको यातायात व्यवस्था कार्यालयमा टिम परिचालन गरिने जानकारी दिएको छ । मन्त्रालयले डिजिटाइजेसनको औपचारिक सुरुवाताबारे घोषणा गर्न फागुन ५ मा कार्यक्रमसमेत आयोजना गर्दै छ ।
सवारीधनीहरूले आफ्नो सक्कल फाइल यातायात कार्यालयमा बुझाउनुपर्ने र सम्बन्धित कार्यालय प्रमुखलाई फाइल व्यवस्थापनको जिम्मेवारी दिइएको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए । डिजिटाइजेसनका लागि ५० वटा डेस्कटप र ५० वटा मोबाइल फोनको व्यवस्था गरिएको उनको भनाइ छ । स्टोरेजका लागि सिंहदरबारस्थित एकीकृत डेटा व्यवस्थापन केन्द्रमा स्पेस लिएको र डेटाको ब्याकअप डेटा हेटौंडामा रहने उनले जनाए । करिब ६५ टेराबाइट (टीबी) स्टोरेज लिइएको छ ।
सवारीधनीहरूले आफ्नो पछिल्लो मोबाइल नम्बर र राष्ट्रिय परिचयपत्र नम्बर कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ । सवारीधनीहरूको व्यक्तिगत विवरण राष्ट्रिय परिचयपत्रको डेटा स्रोतबाट लिने मन्त्रालयको अपेक्षा छ । बायोमेट्रिक भेरिफिकेसन पनि सोही आधारमा हुने भएकाले छुट्टै बायोमेट्रिक तथ्यांक संकलन नगरिने मन्त्रालयले बताएको छ । परिचयपत्रको प्रणालीसँग मन्त्रालयको प्रणालाई लिंकअप गरिरहेको सूचना अधिकारी पौडेलको भनाइ छ ।
इकान्तिपुरबाट