२४औं आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सको पोल्टामा

Thankot Times

थानकोट ।

२४औं आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले जितेको छ ।

शनिबार पोखरामा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित ब्ल्याक बुल्सले उपाधि उचालेको हो ।

पोखरा रंगशालमा भएको खेलमा ३–१ गोल अन्तरले पुलिसलाई पाखा लगाउँदै प्रतियोगितामा पहिलोपटक सहभागी भएको उज्बेकिस्तानी क्लबले उपाधि जितेको हो ।

ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा सान्त्वना गोल गरे ।

यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा थ्री स्टारलाई ४–० ले पराजित गरेको थियो ।

सातौँपटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिस भने फाइनलमा उज्बेकिस्तानी क्लबसामु फिक्का रह्यो । आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरू समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।

विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजारसहित आहा राराको ट्रफी प्राप्त गर्‍यो भने उपविजेता पुलिसले ६ लाख १ हजारमा चित्त बुझायो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *