११औं संस्करणको एक्सेल्सियर कपः यू-१६ फुटसलको उपाधि रिब्स माविलाई

Thankot Times

थानकोट ।

एक्सेल्सियर कप यू-१६ फुटसल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले जितेको छ ।

एक्सेल्सियर कपको ११औं संस्करणको अन्तिम दिन शुक्रबार स्वयम्भूस्थित आयोजक एक्सेल्सियरको मैदानमा भएको ब्वाइज फुटसलको यू-१६ बिधाको फाइनलमा रिब्सले बोधीसत्वमाथि ६–० को सहज जित दर्ता गर्‍यो ।

रिब्सका श्रमन गुरुङ, आयुश केसी, आर्यान केसी, रिसन लामा, ब्लेस गुरुङ र भिनिथ श्रेष्ठले समान १–१ गोल गरे । यू–१६ मा रिब्स श्रमन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

एक्सेल्सियर कपको ११औं संस्करण अन्तर्गत नै बास्केटबलको सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गर्ल्समा स्वर्णिम पहिलो भए । फुटसलको यू–९ मा राई स्कुल, यू–११ मा स्वस्तिश्री गुरुकुल, यू–१४ मा एक्सेल्सियरले उपाधि जिते ।

सिनियर ब्वाइज बास्केटबल फाइनलमा भ्याली भ्युले रेडियन्ट पब्लिकलाई ७०–४२ ले पराजित गर्‍यो । भ्याली भ्युको जितमा गणेशबहादुर विष्टले ३८ अंक योगदान गरे । हिसी ल्हामु लामाको १० अंक सहयोगमा सिनियर गर्ल्सको उपाधि भिडन्तमा स्वर्णिमले रिबसलाई २२–२० ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली भ्यूका गणेशबहादुर विष्ट तथा गल्र्समा स्वर्णिमकी नितिशा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा बेबी एन्जल तथा सिनियर गर्ल्समा राई स्कुल ‘इमर्जिङ टिम’ बने ।

ब्वाइज फुटसलको यू–९ फाइनलमा राई स्कुलले संस्कृति इन्टरनेसनललाई २–१ गोलले पराजित गर्‍यो । राई स्कुलका रेहानकुमार श्रेष्ठ र आभास रेग्मीले गोल गरे ।

यू–११ को उपाधि भिडन्तमा स्वस्तिश्री गुरुकुलले एक्सेल्सियरलाई १–० गोलले हरायो । अर्नव भट्टराईले निर्णायक गोल गरे । यू–१४ को फाइनलमा एक्सेल्सियरले विद्यावाणी पाठशालालाई ४–२ गोलले पाखा लगायो । एक्सेल्सियरका कृष पाण्डेले ह्याट्रिक गरे भने साहिलराज थापाले १ गोल थपे । विद्यावाणीका अभिग्न कडरिया र प्रज्ज्वल गौतमले गोल गरे ।

यू–९ मा संस्कृतिका अर्सभ खड्का, यू–११ मा एक्सेल्सियरका ओजस पाठक, यू–१४ मा एक्सेल्सियरका साहिलराज थापा उत्कृष्ट खेलाडी घोषित भए । यू–९ मा राई स्कुलका इसक राणा, यू–११ मा स्वस्तिश्रीका समिर बोहरा, यू–१४ मा एक्सेल्सियरका अन्शुमननन्द वैद्य र यू–१६ मा रिब्सका आरुस केसी उत्कृष्ट गोलरक्षक चुनिए ।

यू–९ मा जोन डेवी, यू–११ मा बोधी वृक्ष, यू–१४ मा काठमाडौं लिङकन र यू–१६ मा एलआरआई ‘इमर्जिङ टिम’ बने ।

दस दिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा १६ तथा गर्ल्समा १२ टिमले सहभागिता जनाएको विद्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *