थानकोटबाट पक्राउ परेका इनड्राइभ चालकमाथि मुद्दा दर्ता, ५ वर्षसम्म कैद सजायको माग

Thankot Times

थानकोट ।

महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका इन्ड्राइभ चालक प्रविण बरालविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र दर्ता गरेको हो ।

घटना २ माघको हो । पीडित महिला बेलुका साढे ७ बजे चितवनको सौराहाबाट काठमाडौं फर्किंदै थिइन् । मुग्लिनमा पुगेपछि उनी चढेको गाडी बिग्रियो । गाडीका चालकले गाडी बन्न केही समय लाग्ने भएकाले ‘कि केही समय पर्खिनुहोस्, कि आफ्नो व्यवस्था गर्नुहोस्’ भने ।

महिलालाई राइड हेलिङ प्लेटफर्म इन्ड्राइभमा सिटी-टु-सिटी अर्थात् एक सहरबाट अर्को सहरसम्म एपबाटै राइड बुक गर्न सकिने सुविधा छ भन्ने थाहा थियो । त्यसपछि उनले इन्ड्राइभमा आफ्नो सबै विवरणसहित भाडा ‘२५००’ रुपैयाँ राखेर रिक्वेस्ट पठाइन् ।

उक्त रिक्वेस्ट साविक नारायण नगरपालिका वडा नम्बर ३ चितवन घर भएका इलेक्ट्रिक ट्याक्सी चालक बरालकोमा आइपुग्यो । उनले महिलाको नम्बरमा सम्पर्क गरी भाडा ५०० रुपैयाँ थप्न भने । तर, महिलाले २५०० धेरै राखेको भन्दै त्यतिमै लैजाने भए हुन्छ नत्र अर्को खोज्छु भन्ने कुरा गरिन् । त्यसलगत्तै बरालले एकछिनमा कल गर्छु भने ।

त्यसपछि महिलालाई बरालले ह्वाट्सएपमा मेसेज गरे । मेसेजमा उनले ‘बाटोमा एक घण्टा बसौं बरु म भाडा लिंदैन’ भन्ने कुरा गरे । अर्थात् महिलालाई उनले अनुचित सम्बन्धको प्रस्ताव राखे ।

महिलाले ‘के भन्नु भएको, म त्यस्तो मान्छे होइन’ भन्दा पनि चालक बरालले आफ्नो प्रस्तावमा अडिग रहे । त्यसपछि महिलाले चालकलाई ह्वाट्सएपमा ब्लक गरिन् । त्यसको भोलिपल्ट सामाजिक सञ्जाल टिकटकमा एक लामो भिडिओ राख्दै उनले घटना बाहिर ल्याएकी थिइन् ।

पीडित महिलाले बरालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । भिडिओ भाइरल भएपछि राइड शेयरिङ प्लेटफर्ममा यात्रुको सुरक्षाबारे बहस चर्किएको थियो । धेरैले महिलाप्रति सहानुभूति प्रकट गर्दै चालकलाई कारबाही हुनुपर्ने धारणा राखेका थिए ।

पीडित महिलाको उजुरीका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले त्यसको पाँच दिनपछि अर्थात् ८ माघ २०८१ मा थानकोटबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीलाई बयान दिने क्रममा आरोपित बरालले आफ्नो अपराध स्वीकारेका छन् । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को धारा ४७ बमोजिम कारबाही गर्न माग दाबी गरिएको टेकपानामा खबर छ । सो दफामा लेखिएको छ, “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय ।” अर्थात् यसमा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

त्यस्तै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसूरदाताबाट पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराइदिन माग गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *