एलपी ग्यास उद्योग संघद्धारा आन्दोलनको घोषणा

थानकोट ।
नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
संघका अनुसार ३० माघदेखि एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने भएको छ । संघका अनुसार देशभरि ५९ वटा ग्यास उद्योगहरू छन् ।
यसैगरी १-५ फागुनसम्म सबै ग्यास उद्योगहरूले विरोधका कार्यक्रमबारे प्रचारप्रसार गर्ने, ६ फागुनदेखि भारतको इन्डियन आयल कर्पोरेसनबाट ग्यास लोड नगर्ने, १२ फागुनदेखि भारतबाट लोड भएर आएका ग्यास बुलेटहरू भन्सार नाकाबाट नछुटाउने उल्लेख छ ।
आफूहरूको माग सम्बोधन नभए १८ फागुनदेखि देशभरिका उद्योगहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा संघले गरेको छ ।
यसैगरी संघले २२ फागुनदेखि देशभरिका ग्यास विक्रेता डिपोहरू बन्द गर्न आह्वान गर्ने जनाएको छ ।
नेपाल सरकार ग्यास प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग पनि संघले गरेको छ ।
एलपी ग्यास दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था लागु गरिनुपर्ने माग संघको छ ।
विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिती दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग संघको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिव घिमिरेले नेपालमा विस्फोटक ऐन कानुन र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै इजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको गुनासो गरे ।
नेपाली ढुवानी साधन नहुँदा वार्षिक खर्बौं रुपैयाँ विदेशिएको उनको भनाइ थियो ।
एकतर्फी ढंगबाट लगानीको संरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रहिरहेमा उद्योग सञ्चालनलाई निरन्तरता दिन नससकिने उनको भनाइ थियो ।