बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त

थानकोट ।
नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशीलदेव सुवेदी नियुक्त भएका छन् ।
प्राधिकरणको बुधबार बसेको पदपूर्ति समितिको बैठकले दोस्रो वरियतामा रहेका सुवेदीलाई संस्थाको सर्वोच्च पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सुवेदी अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको सर्वोच्च पद (प्रशासनिक रुपमा) मा पुगेका हुन् ।
२०६३ साल बैशाख ३ गते सहायक निर्देशकका रुपमा नेपाल बीमा प्राधिकरणमा प्रवेश गरेका सुवेदी १८ वर्ष १० महिना सेवा गरेपछि प्रशासनिक रुपमा सबैभन्दा उच्च कार्यकारी निर्देशक बन्न सफल भएका छन् ।
बीमा प्राधिकरणको कर्मचारी बिनियमावली २०६८ अनुसार कार्य सम्पादनमा मूल्याङ्कनमा उत्कृष्ट नम्बर पाएकोले सुवेदी आफूभन्दा झण्डै चार वर्ष वरिष्ठ कमलराज रेग्मीलाई पछाडि पर्दै कार्यकारी निर्देशक बन्न सफल भएका हुन् ।
बीमा प्राधिकरणमा गत जेठदेखि रिक्त रहेको कार्यकारी निर्देशकमा लोकसेवाको प्रक्रिया पुरा गरी नयाँ कार्यकारी निर्देशक नियुक्त गर्न पदपूर्ति समितिले बुधबार सिफारिस गरेको हो ।
सुवेदी चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थान निवासी हुन् ।