चम्पादेवी केबलकारका विषयमा चर्काचर्की

थानकोट ।
काठमाडाैंको कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा संरचना बन्ने गरी चम्पादेवी ईको फ्रेण्डली कम्पनीद्धारा प्रवर्द्धित चम्पादेवी केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक सार्वजनिक सुनुवाईका क्रममा परियोजना प्रभावित क्षेत्रका स्थानीयले निर्माणकर्ताबाट स्पष्ट धारणा माग गरेका छन् ।
बिहीबार बिहान संयोजित सो सार्वजनिक सुनुवाई कार्यक्रममा कम्पनीका तर्फबाट प्रस्तुत गरिएको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन पेश भइरहँदा स्थानीयबासीले केबलकार परियोजना बन्नुअघि सो क्षेत्रको पर्यावरण, वातावरण, आर्थिक एवं सामाजिक क्षेत्रका सन्दर्भमा मिहिन ढंगले अध्ययन भएमात्रै परियोजना अघि बढाउनुपर्ने धारणा राखेका हुन्।
२०६१ सालबाट नै चम्पादेवी केबलकार परियोजना निर्माण हुने भनिएपनि राजनीतिक स्वार्थका कारण केबलकार बन्न नसकेको कार्यक्रममा उपस्थित स्थानीयको आरोप थियो ।
सीमित व्यक्तिलाई मात्रै सार्वजनिक सुनुवाईमा बोलाइएको, अपायक समयमा कार्यक्रम राखिएको, बन्द कोठामा सार्वजनिक सुनुवाई गरिएको भन्दै सहभागीहरूले खुला स्थानमा र बृहत् रुपमा केबलकार परियोजनाका विषयमा स्थानीयको धारणा बुझ्नुपर्ने भन्दै कार्यक्रमकाे सान्दर्भिकता माथि प्रश्न उठाएका थिए ।
छिमेकमा १ दशकदेखी चन्द्रागिरि केबलकार सञ्चालन भइरहँदा त्यहाँका स्थानीयले चन्द्रागिरि केबलकारको व्यवस्थापनले स्थापनाकालमा स्थानीयसँग गरेका प्रतिबद्धता पूरा नगरेकोले सो प्रवृत्ति चम्पादेवीमा नदोहोरिएला भन्ने के ग्यारेन्टी ? चन्द्रागिरि केबलकार प्रभावित क्षेत्रका स्थानीयले जसरी हामी गन्डोला गनेर मात्रै बस्ने पक्षमा छैनाैं, एक जना सहभागीले भने । आफुहरू विकास विरोधी नभएको तर परियोजना सुरु हुनु अघि र परियोजना कार्यान्वयनको चरणमा पुग्दा निर्माण पक्षबाट द्वेध चरित्र देखिने गरेको भन्दै स्थानीयहरूले लिखित रुपमै प्रतिबद्धता एवं सहमतिहरू जनाइनु पर्नेमा जोड दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा संघीय सांसद् राजेन्द्रकुमार केसी, बागमती प्रदेश सभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरका मेयर कृष्णमान डंगोल, कीर्तिपुर वडा नं. ४ का वडाध्यक्ष राजेन्द्र बानियाँ लगायत स्थानीय बासीहरूको उपस्थिति रहेको थियो ।
चम्पादेवी केबलकार परियोजनाका बारेमा कम्पनीका आयोजना प्रमुख गोकुल साउदले संक्षिप्त प्रतिवेदन पेश गरिरहँदा सहभागी स्थानीयहरूले हो-हल्ला गर्न थालेपछि कार्यक्रम रोकिएको थियो ।
सो पछि सांसद् केसी, सांसद् महर्जन, मेयर डंगोल र वडाध्यक्ष बानियाँले केबलकार प्रवर्द्धक पक्षसँग निकट भविष्यमा नै अर्को कार्यक्रम संयोजन गरी स्थानीयको भावना बुझि कार्य अघि बढाउन सुझाव दिएका थिए ।
चम्पादेवी केबलकारको संक्षिप्त विवरणः
आयोजना क्षेत्रः बटन स्टेशन- दक्षिणकाली नगरपालिका वडा नं. १ बोसन, टप स्टेशन- कीर्तिपुर नगरपालिका वडा नं. ४ चम्पादेवी
कूल अनुमानित लागतः ६०० करोड रुपैयाँ
केबलकारको कूल लम्बाइः २.०७५ मिटर
टावर संख्याः १२
गन्डोला संख्याः ३४
प्रति गन्डोलाको यात्रु क्षमताः १० जना
आयोजनाले चर्चने संरचनाको क्षेत्रफलः बटन स्तेशन- ५९७५ वर्ग मिटर, टप स्टेशन- १५६५ वर्ग मिटर