चन्द्रागिरि नगरमा आजदेखि किशोरीहरूका लागि एचपीभी खोप अभियान सुरु

Thankot Times

थानकोट । 

सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ । 

चन्द्रागिरि नगरमा पनि एचपीभी खोप अभियान मंगलबारबाट नै सुरु भएको छ ।

नगरप्रमुख घनश्याम गिरीले खोप अभियानको सुरुवात गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका-०४ चुनदेवस्थित चुनदेवी माविबाट सो अभियान थालनी गरिएको घोषणा गरेका हुन् । सो क्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, चन्द्रागिरि नगर सामाजिक विकास समिति संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेल लगायतको उपस्थिति रहेको थियो । 

नगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भूकुमार महतोका अनुसार नगर क्षेत्रका सबै सामुदायिक, संस्थागत विद्यालयका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइनेछ ।

चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम, एच.पी.भी. खोप अभियान सञ्चालनका लागि नगर क्षेत्रका सबै १५ वटै वडामा गरी जम्मा ७० वटा खोप केन्द्र तय गरिएका छन् ।

चन्द्रागिरिमा आजदेखि एचपीभी खोप अभियान सुरु हुँदै, ७० वटा खोप केन्द्र तय

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा सो खोप अभियान सुरु हुन लागेको हो ।

एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने बताइएको छ ।

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको संक्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने महाशाखाको भनाइ छ ।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *