वसन्त श्रवण : हनुमानढोकाको नासल चोकमा राष्ट्रप्रमुखलाई के सुनाइन्छ ?
थानकोट ।
सरस्वती पूजाको दिन हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्र प्रमुखलाई वसन्त श्रवण गराउने प्रचलन छ । यो प्रचलन प्रताप मल्लको पालादेखि नै चलिआएको बताइन्छ ।
विगतमा राजाबाट वसन्त श्रवण हुने गरे पनि गणतन्त्र आएपछि भने यो कार्यक्रममा राष्ट्रपति सहभागी हुने गरेका छन् । वसन्त श्रवणको बेला राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख पनि सहभागी हुने प्रचलन रहीआएको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डामा कार्यरत पुरोहित देवराज अर्यालका अनुसार १२औं शताब्दीमा बंगालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई आजको दिन हनुमानढोका दरबारमा राष्ट्र प्रमुखलाई सुनाउने गरिएको छ ।
वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ । भगवान् कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रसरंग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ ।
यस दिन वसन्त श्रवण गरेमा सुख, शान्ति, समृद्धि मिल्ने विश्वास गरिन्छ । त्यसैले राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य गन्यमान्य, विद्वत व्यक्तित्वहरु भेला भएर वसन्त श्रवण गर्ने चलन छ ।
परापूर्वकालदेखि राजा महाराजाहरुले देश र जनताको अवस्था बुझ्न श्रीपञ्चमीको दिन भेला बोलाउँथे र होलीको दिन खुसियाली मनाउँदै आ-आफ्नो ठाउँमा फर्किन्थे । अहिलेको परम्परा पनि त्यसैको निरन्तरता हो ।
श्री भनेको सुरुवात हो । यसै दिनदेखि वसन्त ऋतु प्रारम्भ भएको बताइन्छ । वसन्त ऋतुमा नयाँ पालुवा पलाउने गर्दछ अर्थात् यो जगतले नै नयाँ रुप लिन्छ । यो समय निकै अदभूत, निकै अलौकिक मानिन्छ । वसन्त ऋतुलाई सबैभन्दा महत्वपूर्ण ऋतु भनिएको छ । श्रीकृष्णले पनि म ऋतुहरुमध्ये म वसन्त हुँ भनेका छन् ।
त्यसैले श्रीपञ्चमीलाई श्रीदेवी, भूदेवी र वाकदेवीको संगम मानिन्छ । त्यसैले यस दिन कुनै नयाँ काम सुरु गर्ने प्रचलन छ । यस दिनलाई अत्यन्त शुभ मानिने हुनाले विवाह, व्रतवन्ध लगायतका शुभ कार्य गर्न साइत हेर्न नपर्ने विश्वास गरिन्छ ।
तस्वीरः दीर्घमान गणेशमान चित्रकार फाउण्डेशन ।
तस्वीरमा, श्री पञ्चमीका अवसरमा हनुमान ढोकामा वसन्त श्रवण राजा त्रिभुवन, प्रधानमन्त्री पद्यशमशेर, युवराज महेन्द्र, राजकुमार बसुन्धरा, राजकुमार हिमालय, जनरल मोहन शमशेर लगायत ।