आज काठमाडाैंमा बढी चिसो महशुस गर्नुभयो कि ?
थानकोट ।
काठमाडौंको न्यूनतम तापक्रम आज १५ दिनयताकै कम मापन गरिएको छ ।
आइतबार (माघ २०) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, उक्त समयमा काठमाडौंमा यो तापक्रम १५ दिनयताकै कम हो । यही माघ ५ गते काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसपछिको कम तापक्रम आज मापन गरिएको महाशाखाले जनाएको छ ।
माघ ६ गते काठमाडौंको न्यूनतम तापक्रम ४.४, माघ ७ गते ५.१, माघ ८ गते ५.६, माघ ९ गते ६.२, माघ १० गते ५.६, माघ ११ गते ५.०, माघ १२ गते ४.८, माघ १३ गते ७.८, माघ १४ गते ५.७, माघ १५ गते ६.३, माघ १६ गते ८.२, माघ १७ गते ७.८, माघ १८ गते (अस्ति) ६.२, माघ १९ गते (हिजो) ५.८ डिग्री सेल्सियस थियो ।
काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
आइतबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –५.७ डिग्री सेल्सियस छ । शनिबार (हिजो) पनि जुम्लाको न्यूनतम तापक्रम –५.७ डिग्री सेल्सियस नै थियो । शुक्रबार (अस्ति) जुम्लाको न्यूनतम तापक्रम –५.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
आइतबार दिपायलको न्यूनतम तापक्रम ३.९, वीरेन्द्रनगरको ४.४, डडेलधुरा र ताप्लेजुङको समान ४.७, ओखलढुंगाको ५.८ डिग्री सेल्सियस छ ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झा रातको समयमा आकाश खुला हुँदा बिहान चिसो बढ्ने बताउँछन् । राति आकाशमा बादल लागे चिसो केही कम हुने उनको भनाइ छ ।
“चिसो बढ्नुका विभिन्न कारण हुन्छन्, उत्तरपश्चिमबाट हावा आयो भने पनि चिसो हुन्छ,” उनले भनेका छन्, “तर, पश्चिमबाट अथवा मरुभूमिबाट हावा आयो भने तातो हुन्छ ।”