चन्द्रागिरि नगरपालिका क्षेत्रमा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री गर्न रोक
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले सार्वजानिकस्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ।
नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान, पराग, यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको हो।
सूचनामा सूर्ति सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनि, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मूखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको उल्लेख छ।
सूचनामा भनिएको छ, ‘नगरपालिका क्षेत्रभित्र मदिरा, सूर्तिजन्य पदार्थहरु बिक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तिजन्य पदार्थको सेवनका कारण भूमि प्रदुषित हुने, ढल जाम हुने, फोहरमैला बढ्न गइ शहरको सुन्दरतामा समेत प्रतिकुल प्रभाव परेको छ।’
सूचनामा सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौं रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका जस्तै खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तिजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानलाई सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरि चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र बिक्री वितरण पूर्ण रूपमा प्रतिबन्ध लगाइएको उल्लेख छ। ‘कसैले यो सूचनालाई अवज्ञा गरी बिक्री बितरण गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गरी बिक्रि वितरण गर्ने व्यवसायीलाई कानून अनुसार अधिकतम सजाय गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
सूचना हेराैंः