त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशका लागि ४ जनाको प्रतिस्पर्धा
थानकोट।
त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको नयाँ कार्यकारी निर्देशकका लागि चार जनाको प्रतिस्पर्धा हुने भएको छ ।
कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा चार जनालाई छनोट गरेको हो । उनीहरुलाई यही माघ २३ गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।
प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो।
समितिका अनुसार अन्तर्वार्तामा आउँदा उनीहरुलाई अस्पताल सञ्चालनसम्बन्धी व्यवस्थापन योजनाको १० मिनेटको पावर प्वाइन्ट प्रस्तुतीकरण समेत तयारी गरी ल्याउन भनिएको छ ।
समितिले हरेक उम्मेदवारलाई आधा घण्टाको समय दिने र सोही अनुसार आधा घण्टाको फरकमा उम्मेदवारलाई बोलाएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेको समयावधि सकिएपछि उक्त पद रिक्त छ। अहिले अस्पतालमा डा घनश्याम गुरुङले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।