चन्द्रागिरि नगरले तीन शीर्षकमा छात्रवृत्ति उपलब्ध गराउने, माघ ३० भित्र आवदेन पेश गर्न आह्वान
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले यस वर्षपनि छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नगरको छात्रवृत्ति व्यवस्थापन समितिको बैठकले नगर क्षेत्रमा स्थायी बसोबास गरिरहेका छोरी बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
आर्थिक वर्ष २०८१-८२ मा चन्द्रागिरि नगरपालिकाबाट रकम विनियोजन भएको हुँदा नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समितिको माघ ०७ गतेको निर्णयानुसार यही माघ ३० गतेभित्र इच्छुक विद्यार्थीहरुले आवेदन फाराम भरी तोकिएका कागजातहरुसहित नगरको शिक्षा, युवा तथा खेलकुद शाखामा पेश सकिने बताइएको छ।
आवेदन फाराम नगरपालिकाको वेभसाइटबाट डाउनलोड गर्न सकिने, नगरको शिक्षा, युवा तथा खेलकुद शाखा वा सम्बन्धित वडा कार्यालयबाट प्राप्त गर्न सकिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति प्राप्तिका लागि चन्द्रागिरि नगरपालिका भित्र स्थायी बसोबास भएका र सूचना प्रकाशन भएको मितिसम्म नियमित विद्यार्थीहरुले मात्र निवेदन दिन चन्द्रागिरि नगरबाट जारी सूचनामा उल्लेख छ । कुनैपनि तहको अन्तिम परीक्षा दिइसकेका र अनुत्तीर्ण भई आंशिक परीक्षा दिइरहेका छोरी बुहारीलाई छात्रवृत्ति उपलब्ध नगराइने सो सूचनामा उल्लेख छ ।
यस्तै चन्द्रागिरि नगरपालिकाले दलित लक्षित उच्च शिक्षा छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । जुन प्राप्तिका लागि चन्द्रागिरि नगरभित्र स्थायी बसोबास भएका र सूचना प्रकाशन भएको मितिसम्म उच्च शिक्षा अध्ययन गरिरहेका नियमित विद्यार्थीहरुले निवेदन दिन सक्नेछन् । कुनैपनि तहको अन्तिम परीक्षा दिइसकेका र अनुत्तीर्ण भई आंशिक परीक्षा दिइरहेकालाई सो छात्रवृत्ति उपलब्ध नगराइने नगरका शिक्षा निर्देशक सुदनराज खनालले जानकारी दिए ।
यसैगरी चन्द्रागिरि नगरक्षेत्र भित्रका सामुदायिक विद्यालय तथा क्याम्पसमा कक्षा ११, १२ र उच्च शिक्षा छात्रवृत्तिका लागि चन्द्रागिरि नगरपालिकाभित्र स्थायी बसोबास भएका र सूचना प्रकाशन भएको मितिसम्म चन्द्रागिरि नगरपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक क्याम्पसमा कक्षा ११, १२ र उच्च शिक्षा अध्ययन गरिरहेका नियमित विद्यार्थीहरुले निवेदन दिन सक्नेछन् ।
कुनैपनि तहको अन्तिम परीक्षा दिइसकेका र अनुत्तीर्ण भई आंशिक परीक्षा दिइरहेकालाई छात्रवृत्ति उपलब्ध नगराइने शिक्षा निर्देशक खनालको भनाइ छ ।
चन्द्रागिरि नगरपालिकाको सूचना हेराैं