नागढुङ्गा सुरुङमार्गबाट कहिलेदेखि गुड्लान सवारीसाधन ?

Thankot Times

थानकोट ।

नौ महिनाअघि वैशाख ३ गते छिचोलिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङमा अहिले गाडी गुड्न मिल्ने गरी पूर्वाधार बनाउने काम भइरहेको छ ।

नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपप्रमुख सञ्जय पन्थीका अनुसार सुरुङभित्र सडक ढलान, बत्ती जडान, भेन्टिलेसन लगायतका काम भइरहेको छ ।

‘अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झन्डै ८५ प्रतिशतभन्दा बढी छ,’ उहाँले भन्नुभयो, ‘कुनै समस्या आएन भने अर्को वर्षको माघसम्म गाडी चलाउन सकिन्छ ।’ नागढुङ्गा सुरुङमार्गबाट दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र पेट्रोलियम पदार्थ बोकेका बाहेक अरू सबै गाडी चल्न पाउनेछन् ।

सुरुङमा तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाईओभर रहेका छन् । बलम्बु टेलिकम कार्यालय क्षेत्रमा फ्लाईओभरको ढलानको काम सकिएको र अहिले फ्लाईओभरबाट बाटोमा जोड्ने सडक अर्थात् ‘स्लोप’ को काम भइरहेको आयोजनाका उपप्रमुख पन्थीले जानकारी दिनुभयो, उज्यालोमा खबर छ ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिकाको टोटीटोलदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ साढे दुई किलोमिटरभन्दा धेरै (दुई हजार छ सय ६७ मिटर) रहेको छ ।

आयोजना निर्माणको शुरूवाती सम्झौताअनुसार काम शुरू भएको ४२ महिनाभित्र अर्थात् गएको वर्ष वैशाखमै सकिनुपर्थ्यो । विभिन्न समस्याका कारण तोकिएको समयमा काम नसकिएपछि पछिल्लो समय सरकारले आउँदो वर्षको माघ ८ गतेसम्म ठेक्काको सयम थपेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको छ अर्ब रुपैयाँ लगानी छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ