शहीद गेटमा सभापति कपको ट्रफी अनावरण
थानकोट ।
नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ ।
माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।
आयोजक महाधिवेशन निर्देशन समितिले आज सहिद दिवस पनि परेकाले ट्रफी एक कार्यक्रमका बीच शहिद गेटमा अनावरण गरिएकाे हाे। ‘नेपाली काँग्रेसले सदैव सहिदहरूको सम्मान गर्दै आएको बताउँदै प्रतियोगिताको ट्रफी पनि सहिद गेटमा अनावरण गरेका हौँ ।’ निर्देशन समितिका संयोजक मोहन बस्नेतले भने ।
ट्रफी सार्वजनिक गर्नु अघि नेपाली काँग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल र्यालीको पनि आयोजना गरिएको छ ।
तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्याली एयरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै शहीद गेटमा पुगेर ट्रफी अनावरण कार्यक्रममा सहभागी भयाे ।
प्रतियोगिताको फाइनल खेल (भाेलि) बिहीबार साँझ साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुने छ ।
प्रतियोगिताको विजेताले नगदै २६ लाख र उप विजेताले नगदै १३ लाख प्राप्त गर्ने छ । यसै गरी दैनिक प्लेयर अफ दी म्याचले १५ हजार पाउँदै आएका छन् भने प्रतियोगिताको फाइनल पछि सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।
फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म रु एक सय र रु दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।