काठमाडाैं महानगरका ४६ हजार ९८५ किशोरीलाई एचपिभी खोप दिइँदै

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार ९८५ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने भएको छ।

सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइने भएको हो।

महानगरपालिकाको स्वास्थ्य विभागले सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका छात्राहरूको संख्या गणना गरेको छ।

विभागको विवरणमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन्। यी विद्यालयहरूमा ४२ हजार ५७ जना छात्रा अध्ययनरत छन्। विद्यालयबाहिर ४ हजार ९२८ जना किशोरीहरू रहेका विवरणमा उल्लेख छ।

सोमबार बसेको खोप समन्वय समितिको बैठकमा महिला स्वास्थ्य र खोपका विषयमा कुरा गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दीर्घरोग रोकथामका लागि महानगरपालिकाले सञ्चालन गरेका सहभागितामूलक कार्यक्रममा आमनागरिकबाट सहयोग प्राप्त हुने अपेक्षाग गरेको बताइन्।

‘सहरी जीवन निष्क्रिय छ। यसैकारण नसर्ने खालका रोगको जोखिम पनि बढेको छ। यसलाई घटाउन समयमै काम गर्नुपर्छ। महानगरपालिकाले नेतृत्व गर्छ। यस अभियानमा एकैसाथ काम गरौँ,’ उनले भनिन्।

जनस्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टका अनुसार प्रति एक लाख महिलामध्ये ४ जनाभन्दा कम संख्यामा क्यान्सर सीमित गराउने लक्ष्यअनुरूप खोप सेवा सञ्चालन गरिएको हो। ‘विश्व स्वास्थ्य संगठनले शिफारिस गरेको र नेपालका औषधि व्यवस्था विभागमा दर्ता भएको यो खोप सुरक्षित छ,’ विष्टले जानकारी दिए।

पाठेघरको मुखको क्यान्सरबाट बच्न ३ चरणका उपाय छन्। १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपीभी खोप लगाउनु पहिलो उपाय हो भने दोस्रो, ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु। तेस्रोमा भने पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु हो।

बाल कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्ण भन्छन्, ‘नेपाल सरकारले यी ३ वटै चरणमा ९० प्रतिशत कभरेज गर्ने लक्ष्य राखेको छ। यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण छ।’

स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार महानगरपालिकामा माघ २२ गते र माघ २५ गते गरेर दुई चरणमा अभियान सुरु हुनेछ।

पहिलो चरणमा वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० वडामा खोप सुरु हुनेछ।

वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ।

वडा क्लिनिक र स्वास्थ्य प्रवर्द्धन केन्द्रले विद्यालयहरूसँग समन्वय गरेर खोप केन्द्र निर्धारण गर्नेछन्।

जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन मैया सैँजुका अनुसार विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीहरूका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट खोप दिइनेछ।

तस्वीरः काठमाडाैं महानगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ